सर्लाही, पुस ९ गते ।
पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्डअन्तर्गत लखन्देही पुलमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका–१ स्थित पुलमा आज बिहान नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ६३ प ५६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मलङ्गवा नगरपालिका–७, मुसैलीका ७० वर्षीय रामविलास महतोलाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नवलपुर लैजाँदैपछि थप उपचारका लागि वीरगन्ज पठाइएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका–१७, रानिगन्ज निवासी २९ वर्षीया बिर्सनामाया भुजेल सामान्य घाइते भएकी थिइन्। उनको उपचारपछि अस्पतालबाट घर फर्काइएको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिई दुर्घटनासम्बन्धी अनुसन्धान अगाडि बढाएको छ ।

