राजेश सिंह
गाैशाला, पुस १० गते ।
महाेत्तरीकाे गौशाला नगर अस्पतालमा रगतको अभावका कारण उपचारमा समस्या नआओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सोही अवसरमा गाैशाला नगरपालिका – ४ स्थित गौशाला नगर अस्पतालमै ब्लड बैंक स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । बिहीबार अस्पतालको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुखसहित २१ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् ।
कार्यक्रमका क्रममा नगर प्रमुख डा. दिपेन्द्र महतोले नवनिर्मित ब्लड बैंकको रिबन काटी उद्घाटन गर्नुका साथै स्वयं रक्तदान गरेर सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमरेश सिंहका अनुसार अब आपतकालीन अवस्था, सुत्केरी सेवा, शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामीलाई आवश्यक पर्ने रगत स्थानीय तहमै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख डा. महतोले ब्लड बैंकको स्थापना गौशालाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले भन्नुभयो, “रगत अभावकै कारण कसैको ज्यान जानु नपरोस् भन्ने हाम्रो प्रतिबद्धता हो। नगरपालिकाले नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै अस्पतालको सेवा र पूर्वाधार सुदृढ बनाउँदै आएको छ।” उहाँले स्वेच्छिक रक्तदानलाई सामाजिक दायित्वका रूपमा विकास गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी र गौशाला नगर अस्पतालको सहकार्यमा स्थापना गरिएको उक्त ब्लड बैंकबाट सुरक्षित रूपमा रगत संकलन, परीक्षण, भण्डारण तथा आपूर्ति गरिने जनाइएको छ। यसले गौशाला नगरपालिका मात्र नभई आसपासका क्षेत्रका नागरिकहरूलाई समेत प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारी, वडा नं. ११ का अध्यक्ष तथा नगर प्रवक्ता रामपृत महतो, वडा नं. १२ का अध्यक्ष कुशेश्वर सिंह कुशवाहा, वडा नं. ९ का अध्यक्ष ब्रदी प्रसाद सिंह दनुवार, नेपाल रेडक्रस सोसाइटी गौशाला उप–शाखाका सभापति दिनेश महतो, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार ब्लड बैंक स्थापनासँगै आगामी दिनमा नियमित रक्तदान कार्यक्रम सञ्चालन गरिने र आपतकालीन स्वास्थ्य सेवामा थप सहजता ल्याइनेछ ।

