धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, पुस ११ गते ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–२ लोहरौलामा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत बाल विकास केन्द्रका ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। जाडो मौसम बढ्दै गएकाले साना बालबालिकालाई चिसोबाट जोगाउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।
विजयनगर गाउँपालिका–२ मगरघट्टाका समाजसेवी गगन कुमार मिश्रले शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममार्फत बाल विकास केन्द्रका विद्यार्थीहरूलाई स्विटर र ट्राउजर वितरण गर्नुभएको हो। सहयोगप्रति विद्यालय परिवार तथा अभिभावकहरूले मिश्र परिवारप्रति आभार व्यक्त गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक मिर्जा प्रसाद चौधरीका अनुसार मिश्र परिवारले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक तथा मानवीय सहयोग गर्दै आएको छ । जाडो मौसमलाई ध्यानमा राख्दै बालबालिकाको स्वास्थ्य र नियमित पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले न्यानो कपडा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
यसै अवसरमा विद्यालयले चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्नुका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रमसमेत सम्पन्न गरेको जनाएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विद्यालय प्रशासनले यस्ता सहयोग र प्रोत्साहन कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै पठनपाठनप्रति थप उत्साह पैदा हुने विश्वास व्यक्त गरेको छ ।




