जनकपुरधाम, पुस ११ गते ।
झापा बिर्तामोडकी आशा निरौला खनालले जीवनका कठिनतम परिस्थितिलाई परास्त गर्दै ५४ वर्षको उमेरमा स्नातक तह उत्तीर्ण गरेकी छन् । छोरीसँगै एउटै दीक्षान्त समारोहको मञ्चमा उभिन सफल उनको यो उपलब्धिले समाजमा गहिरो सन्देश दिएको छ ।
विवाहपछि कक्षा १२ मै पढाइ रोक्न बाध्य बनाइएकी आशाको जीवन सहज थिएन। श्रीमान् गुमाएपछि चार सन्तानको सम्पूर्ण जिम्मेवारी एक्लै काँधमा बोकेर उनले संघर्षपूर्ण जीवन बिताइन् । आर्थिक अभाव, मानसिक पीडा र पारिवारिक दायित्वका बाबजुद पनि उनले शिक्षा प्रतिको आफ्नो सपना मर्न दिइनन् ।
सन्तानको पालनपोषणसँगै आफूले अधुरै छोडेको पढाइलाई निरन्तरता दिँदै उनले अन्ततः स्नातक तह पूरा गरिन्। ५४ वर्षको उमेरमा छोरीसँगै दीक्षान्त समारोहमा सहभागी हुनु केवल व्यक्तिगत सफलता मात्र होइन, “अब ढिलो भइसक्यो” भन्ने सामाजिक सोचलाई चुनौती दिने उदाहरण बनेको छ ।
आशा निरौला खनालको जीवनकथाले विवाह, जिम्मेवारी वा कठिन परिस्थिति पढाइ र सपनाको अन्त्य होइन भन्ने स्पष्ट सन्देश दिएको छ। इच्छाशक्ति र आत्मविश्वास भए जुनसुकै उमेरमा पनि सपना साकार गर्न सकिन्छ भन्ने प्रेरणा उनले आफ्नै जीवनबाट प्रमाणित गरेकी छन् ।
उनको यो उपलब्धि आज पनि पढाइ छोड्न बाध्य बनाइएका, परिस्थितिले थिचिएका र भविष्यप्रति निराश बनेका धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

