पवन प्रसाद साह
बिरगंज, पुस १२ गते ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वाटर पर्साले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका क्रममा ९ केजी ३०० ग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय तथा नं. २ छिन्नमस्ता बाहिनीको निर्देशनअनुसार लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको पर्सा गणले मिति २०८२ साल पौष १२ गते पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकमा चेकप्वाइन्ट स्थापना गरी सवारी साधन जाँच गरेको थियो ।
जाँचका क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरिएको प्रतिबन्धित गाँजा दुईवटा मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले कुल ९ केजी ३०० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।
गाँजासहित दुई थान मोटरसाइकल, दुई थान मोबाइल फोन तथा भारतीय रुपैयाँ १,४५० समेत नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक पुरन भट्टले सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सुरक्षा निगरानी अझ कडा बनाइएको बताउँदै अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे। उनले समाजलाई लागुऔषधको दुष्प्रभावबाट जोगाउन सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको समेत बताए ।

