काठमाडौं, पुस १२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच राजनीतिक सहकार्यसम्बन्धी लिखित सहमति भएको छ । शनिबार साँझदेखि जारी छलफलपछि आइतबार बिहान करिब ४ बजे दुबै पक्षले सहमतिमा हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नेछ । पार्टीको नाम, झण्डा र चुनाव चिह्न भने यथावत् राष्ट्रिय स्वतन्त्र पार्टीकै रहने उल्लेख गरिएको छ। पार्टीको सभापतिमा रवि लामिछाने नै कायम रहनेछन्।
सहमति पत्रमा केन्द्रीय समिति पुनर्गठनको विषय स्पष्ट रूपमा उल्लेख नभए पनि बालेन शाह पक्षबाट थप केन्द्रीय सदस्य समेटी निर्वाचन आयोगमा पार्टीसम्बन्धी विवरण अद्यावधिक गर्ने समझदारी भएको जनाइएको छ ।
दुवै पक्षबीच भएको बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई अझ सुदृढ र व्यापक बनाइने उल्लेख छ। त्यसक्रममा युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समेटिने र जिम्मेवारी बाँडफाँट गर्दा योग्यता, समावेशिता तथा सार्वजनिक छविलाई मुख्य आधार बनाइने सहमतिमा उल्लेख गरिएको छ ।
सहमति पत्रमा विगतका विभिन्न जनआन्दोलन, विशेषतः युवाहरूको सहभागितामा भएका आन्दोलनका शहीद तथा घाइतेहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको छ। साथै भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनप्रति अपनत्व जनाउँदै पीडित परिवारका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
दुबै पक्षले बहुलवादी लोकतान्त्रिक व्यवस्थाभित्र सुशासन कायम गर्दै सामाजिक न्यायसहितको उदार अर्थतन्त्रको माध्यमबाट देशलाई आगामी एक दशकभित्र सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिएका छन्। यसका लागि आवश्यक नीतिगत, संस्थागत र संरचनात्मक सुधारलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सहमतिमा जनाइएको छ ।
सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ भने पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’लाई केन्द्रमा राख्दै अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई सहकार्यका लागि आह्वान गरिएको छ ।


