सर्लाही, पुस १२ गते ।
शीतलहर र चिसोका कारण प्रभावित भएका गरिब तथा विपन्न परिवारलाई राहत दिन बलरा नगरपालिकाले कम्बल वितरण गरेको छ। नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाको पहलमा शनिबार नगरपालिका भित्रका ४७० परिवारलाई न्यानो कम्बल प्रदान गरिएको हो ।
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलङ्गवा तथा सेभ द चिल्ड्रेनको सहयोगमा, बलरा नगरपालिकाको समन्वयमा वडा नम्बर ४, ६ र ९ मा बसोबास गर्ने विपन्न समुदायलाई कम्बल वितरण गरिएको नगरपालिकाले जनाएको छ। केही दिनयता लगातार बढेको चिसो र शीतलहरका कारण दैनिकी कष्टकर बनेको अवस्थामा कम्बल पाएपछि लाभग्राही परिवारले राहतको अनुभूति गरेका छन् ।
नगर प्रमुख कुश्वाहाले चिसोका कारण कसैको पनि अकालमै ज्यान नजाओस् भन्ने उद्देश्यले जोखिममा रहेका परिवारको तथ्याङ्क संकलन गरी न्यानो कपडा वितरणलाई निरन्तरता दिइने बताए। उनले शीतलहरबाट सबैभन्दा बढी असर पर्ने समुदायलाई प्राथमिकतामा राखेर सहयोग कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे ।
अत्यधिक चिसोका कारण दैनिक ज्यालादारीमा निर्भर परिवार, वृद्धवृद्धा तथा बालबालिका बढी जोखिममा रहेको जनाउँदै नगरपालिकाले आवश्यक सावधानी र सहयोग कार्यक्रमलाई अझ विस्तार गर्ने तयारी गरेको छ । तराई क्षेत्रमा प्रत्येक वर्ष चिसोका कारण हुने मानवीय क्षति न्यूनिकरण गर्न यस्ता राहत कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

