काठमाडौँ, पुस १४ गते ।
जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ। एक विशेष कार्यक्रमका क्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरूको उपस्थितिमा दुबै पार्टीबीच एकता घोषणा गरिएको हो ।
एकीकरण पश्चात् पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ। कार्यक्रममा नेताहरूले यस एकताले मधेस केन्द्रित राजनीति अझ सुदृढ बनाउने, राजनीतिक स्थायित्वमा योगदान पुर्याउने र जनताको आकांक्षा पूरा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी नेताहरूले दुवै पार्टीका पहल र योगदानको समीक्षा गर्दै, आगामी निर्वाचन र सरकारसँगको सहकार्यमा साझा रणनीति तय गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले पार्टीभित्रको ऐक्यबद्धता र अनुशासनलाई बलियो बनाउन आवश्यक कदम चाल्ने पनि जनाएका छन् ।
विशेषत: अध्यक्ष उपेन्द्र यादवले मधेस र तराई क्षेत्रका जनताको हितलाई प्राथमिकतामा राखेर राजनीतिक एजेन्डा अघि बढाइने बताए भने सह–अध्यक्ष रेणु यादवले पार्टी एकीकरणले नयाँ उर्जा र विश्वास जगाउने बताए ।
यस एकीकरणपछि पार्टीको संगठनात्मक संरचना र क्षेत्रीय समितिहरूको पुनःसंरचना गरिने र आगामी राजनीतिक कार्यक्रमहरूलाई समन्वयका साथ अगाडि बढाइने छ ।




