काठमाडौं, पुस १४ गते ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट फरार भएका १४७ कैदीमध्ये हालसम्म ५२ जनालाई पक्राउ गरिएको छ। कारागारका जेलर जालन्धर भुसालका अनुसार, जेन–जेड प्रदर्शनको क्रममा भागेका ४२ जना पक्राउ परेका छन् भने १० जना अन्य कारागारबाट फर्काइएको जानकारी प्राप्त भएको छ ।
भुसालले बताए अनुसार, अझै ९३ जना फरार रहेका छन्। उनीहरूलाई तत्कालीन अवस्थामा नजिकैको कार्यालयमा हाजिर हुन निर्देशन दिइएको थियो, तर केहीले खुला सिमानाको फाइदा उठाएर भारततर्फ भागेको अनुमान गरिएको छ ।
नौबस्ता बाल सुधार गृहबाट फरार भएका ७८ बालबन्दीमध्ये ३९ जना पक्राउ परेका छन्। सुधार गृहका प्रमुख श्यामबहादुर रानाका अनुसार, जेन–जेड आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भएको भिडन्तमा भागेकामध्ये हालसम्म ३९ जनालाई मात्र नियन्त्रणमा लिइएको छ। अझै ३९ बालबन्दी फरार रहेका छन् र उनीहरूको खोजी कार्य निरन्तर जारी छ ।
त्यसैगरी, डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ बालबन्दीमध्ये ५८ जना नियन्त्रणमा आइसकेका छन्। सुधार गृहका प्रमुख किशोर शर्माका अनुसार केही बालबन्दी पक्राउ परेका, केही अभिभावकले ल्याएका, र केहीले स्वयं आत्मसमर्पण गरेका छन्। अझै ५७ जना फरार रहेका छन् र खोजी कार्य जारी छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार बन्दी खोजी–पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार कैदीबन्दीमध्ये धेरैजसो भारततर्फ लुकेका हुन सक्ने बताए। उनीहरूले फरार भएकाहरूको घर–घरमा पत्राचार गरिएको र प्रहरी परिचालन गरिएको जानकारी दिए ।
उक्त घटनाक्रममा नौबस्ता बाल सुधार गृहबाट भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरी पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

