कपिलवस्तु, पुस १४ गते ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कपिलवस्तुकी एक ग्राहकलाई घातक रोग बीमा भुक्तानीको रूपमा १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। शिवराज नगरपालिका–९ अञ्चलपुर निवासी भविन्द्रादेवी घर्ती मगरलाई उक्त रकम प्रदान गरिएको हो ।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर आर्यान खानले बीमाले आकस्मिक रोग वा विपदाको समयमा आर्थिक सुरक्षा प्रदान गर्ने बताउँदै, छोटो समयमै भुक्तानी प्राप्त भएकोले बीमा प्रति जनताको विश्वास बढेको उल्लेख गरे ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बीमा सबै नागरिकका लागि आवश्यक भएको बताउँदै प्रत्येक परिवारले भविष्यको सुरक्षाका लागि बीमा गर्नुपर्ने आह्वान गरे। वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासे र समाजसेवी अक्रम पठानले पनि बीमाको महत्वलाई आजको अपरिहार्य आवश्यकता भएको जनाए।
भुक्तानी प्राप्त गर्दै भविन्द्रादेवीले “रोग कहिले कसलाई लाग्छ थाहा हुँदैन, त्यसैले समयमै बीमा गर्नु बुद्धिमानी हो” भन्दै बीमाको वास्तविक महत्व आफ्नो अनुभवबाट बुझेको बताइन् ।

