जनकपुरधाम, पुस १४ गते ।
२८ बुँदे एजेन्डा कार्यान्वयनको माग गर्दै जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशको राजधानी जनकपुरधाममा विशाल जनप्रदर्शन तथा विरोधसभा आयोजना गरेको छ ।
मधेस प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष आदरणीय माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, केन्द्रीय तथा प्रदेशस्तरीय नेतृत्व र ठूलो संख्यामा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।
जनकपुरधामस्थित तिरहुतियागाछी क्षेत्रमा आयोजित जनप्रदर्शन शान्त, अनुशासित तथा भव्य वातावरणमा सम्पन्न भएको हो। विरोधसभालाई सम्बोधन गर्दै वक्ताहरूले पार्टीले अघि सारेका २८ बुँदे मागहरू मधेस र देशको समग्र विकास, सामाजिक न्याय र समावेशीतासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै ती मागहरू तत्काल कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरे ।
कार्यक्रममार्फत पार्टीले आफ्नो एजेन्डाप्रति सरकारको ध्यानाकर्षण गराउँदै लोकतान्त्रिक र शान्तिपूर्ण आन्दोलनमार्फत जनअधिकार सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।








