
महोत्तरी, पुस १५ गते ।
गौशाला – सम्सी सडक तथा हुलाकी राजमार्ग खण्ड सडक विभागलाई औपचारिक रूपमा हस्तान्तरण नहुँदा लामो समयदेखि जर्जर अवस्थामा रहेको छ । सडकको यस्तो दयनीय अवस्थाका कारण दैनिकजसो साना–ठूला दुर्घटना हुने गरेका छन् ।

सडक जर्जर भएको अवस्था हेर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य राख्दै गौशाला नगर युवा संजालले सडकमा रहेका खाल्डाखुल्डी पुर्ने कार्य शुरु गरेको छ। हाल महेन्द्र राजमार्गदेखि गौशाला निगौल चौकसम्मको सडक खण्डमा मर्मत तथा खाल्डो पुर्ने काम भइरहेको छ ।

नगर संजालका अध्यक्षका अनुसार, हाल प्राथमिकताका आधारमा उक्त खण्डमा काम सुरु गरिएको हो भने आगामी दिनमा सम्सीसम्म सडक मर्मत तथा खाल्डो पुर्ने कार्य विस्तार गर्ने लक्ष्य लिइएको छ ।

स्थानीयहरूले नगर युवा संजालको पहललाई स्वागत गर्दै सम्बन्धित निकायले चाँडो सडक विभागलाई सडक हस्तान्तरण गरी दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने बताएका छन् । जर्जर सडकका कारण प्रभावित जनजीवनका बीच यो पहल दुर्घटना न्यूनीकरणमा सहयोगी हुने अपेक्षा गरिएको छ ।








