मटिहानी, पुस १६ गते ।
महोत्तरीको मटिहानी नगरपालिकाले आज बिहान मटिहानी नगरपालिका–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको छात्रावासमा बस्दै आएका विद्यार्थीहरूलाई कम्बल वितरण गरेको छ ।
अत्यधिक जाडो बढ्दै गएको वर्तमान परिस्थितिमा विद्यार्थीहरूलाई चिसोबाट राहत मिलोस् भन्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलज्यूले कम्बल वितरण कार्यको औपचारिक शुभारम्भ गर्नुभयो । नगरपालिकाका अनुसार छात्रावासमा आवासीय रूपमा अध्ययनरत १८ जना विद्यार्थीलाई कम्बल वितरण गरिएको हो ।
नगर प्रमुख मण्डलले चिसो मौसममा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाप्रति नगरपालिका सदैव संवेदनशील रहेको उल्लेख गर्नुभयो। उहाँले शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको आधारभूत आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष। कलीम अंसारी, वडा नं. ७ का वडा अध्यक्ष जीतनारायण माझी, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण, राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री ईश्वरी पौडेल, पूर्व कर्मचारी श्री बरुण मण्डल लगायत विद्यापीठका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरूले नगरपालिकाको यस पहलप्रति प्रशंसा व्यक्त गर्दै जाडो मौसममा विद्यार्थीहरूको स्वास्थ्य संरक्षणका लागि यस्ता सहयोगात्मक कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताएका थिए ।













