राजेश सिंह
गाैशाला, पुस १६ गते ।
पालिका तथा वडाबाट उपलब्ध हुने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुर्याउने उद्देश्यले महाेत्तरीकाे मटिहानी नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविर–२०८२ आज सफलतापूर्वक सम्पन्न भएको छ । पुस ८ गते मटिहानी नगरपालिका वडा नं. १ सिरसियाबाट सुरु गरिएको उक्त शिविर विभिन्न वडामा सञ्चालन हुँदै आज वडा नं. ९ मा पुगेर समापन गरिएको हो ।
नौ दिनसम्म चलेको शिविरमार्फत १०६ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ भने ३ जना अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्रसम्बन्धी दरखास्त संकलन गरिएको नगरपालिकाले जनाएको छ। यस अवधिमा १ हजार ६ सय ३२ जनालाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ । कृषि क्षेत्रतर्फ २ हजार ३ सय १ जना किसानलाई तरकारीको मिनी किट प्रदान गरिएको छ भने २ हजार ८ सय ४९ वटा पशुमा निःशुल्क उपचार तथा औषधि सेवा उपलब्ध गराइएको छ ।
त्यसैगरी, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायत सेवाबाट ६२ जना लाभान्वित भएका छन् । आयुर्वेद सेवाबाट ८७१ जनाले सेवा लिएका छन् भने ८८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरिएको छ। समग्रमा शिविरमार्फत जम्मा ७ हजार ९ सय ९ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन् ।
वडा नं. ९ का वडा अध्यक्षको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पूर्व सांसद रामचन्द्र तिवारी, नगर प्रमुख हरि प्रसाद मण्डल, पूर्व स्वास्थ्य सह–सचिव गरीब दास ठाकुर, उप–प्रमुख मञ्जु देवी साह, ९ वटै वडाका वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, विभिन्न शाखाका प्रमुखहरू, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।



















