काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीअन्तर्गत उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश र जिल्ला तहका समितिलाई परिपत्र जारी गरेको छ ।
पार्टी विधानमा उल्लेख गरिएका मापदण्ड तथा योग्यता पूरा गर्ने व्यक्तिहरूमध्येबाट उम्मेदवार छनोट गरी नामावली पठाउन निर्देशन दिइएको प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार उम्मेदवार छनोट प्रक्रिया प्रतिनिधिसभा क्षेत्रीय समितिको निर्णयका आधारमा अघि बढाउन भनिएको छ ।
सम्बन्धित समितिहरूले संकलन गरेको नामावली राय सहित सात दिनभित्र पार्टीको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। उक्त निर्देशन पुस १७ गते प्रदेश तथा जिल्ला समितिमा पठाइएको हो ।
पार्टीले सिफारिस गरिने व्यक्तिको राजनीतिक अनुभव, संगठनप्रति गरेको योगदान तथा सक्रियताको विवरण पनि समेटेर पठाउन आग्रह गरेको छ ।
प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम निर्णय भने पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठन गरिएको संघीय संसदीय बोर्डबाट गरिने जनाइएको छ ।

