सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित राईटरखोर क्षेत्रमा आज एक जना वन चौकीदारको अत्यन्तै निर्मम ढङ्गले हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
सागरनाथ वन विकास परियोजनामा ज्यालादारी रूपमा कार्यरत स्थानीय ४७ वर्षीय रामइश्वर महतोको शव जङ्गलभित्र टाउको नभएको अवस्थामा फेला परेको हो । वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीका अनुसार महतोको शव घरदेखि करिब ५०० मिटर टाढा परियोजनाको वन क्षेत्रमा भेटिएको हो ।
प्राप्त जानकारीअनुसार आज बिहान करिब ५ बजेतिर जङ्गलतर्फ रुख काटिएको आवाज सुनेपछि चौकीदार महतो त्यस दिशातर्फ गएका थिए । तर दिउँसोसम्म पनि उनी घर नफर्किएपछि र मोबाइल फोन समेत बन्द देखिएपछि परिवारजन तथा छरछिमेकीले खोजतलास सुरु गरेका थिए ।
खोजीका क्रममा जङ्गलभित्र टाउको छुट्टिएको अवस्थामा महतोको शव भेटिएको हो । हालसम्म मृतकको टाउको भने फेला नपरेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका वडाध्यक्ष कार्कीका अनुसार प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ ।
घटनाको गम्भीरताका कारण जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट अनुसन्धान टोली परिचालन गरिएको छ । साथै धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको र शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने प्रक्रिया अघि बढाइएको बताएका छन् ।
सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले राईटरखोर क्षेत्रमा एक्लै वन चौकीदारको जिम्मेवारी सम्हाल्दै आएका महतोको हत्या अत्यन्तै क्रूर र अमानवीय रहेको बताए । यस घटनापछि स्थानीय बासिन्दामा भय र असुरक्षाको वातावरण सिर्जना भएको छ ।

