बुटवल, पुस २१ गते ।
रुपन्देहीको बुटवलमा सवारी साधन चेकजाँचका क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरी सहायक हवलदारको कारको ठक्करबाट मृत्यु भएको छ ।
सोमबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना अगाडि पूर्वबाट बुटवलतर्फ आउँदै गरेको कारले सडकमा चेकजाँचमा खटिएका प्रहरी सहायक हवलदार नागेश्वर पाललाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार अस्थायी ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत पाललाई बागमती प्रदेश १–००३ च ००७७ नम्बरको कारले दिउँसो करिब ४:१५ बजे ठक्कर दिएको थियो ।
ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका पाललाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले ४ बजेर ३८ मिनेटमा मृत घोषणा गरेका थिए ।
प्रहरीले ठक्कर दिने कार र चालक गुल्मीको रेसुङ्गा नगरपालिका–१ निवासी ५६ वर्षीय जितेन्द्र थापालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

