सर्लाही, पुस २१ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव रायलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
जिल्ला समिति सर्लाहीको पुस २० गते बसेको बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
सिफारिस गरिएका उम्मेदवारमध्ये क्षेत्र नं. ३ बाट मनोज कुमार यादव राय सहित रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी. यादव) र विनोद यादवको नाम सिफारिस गरिएको छ ।
यादव पार्टी स्थापना कालदेखि नै प्रचार–प्रसार, संगठन निर्माण तथा विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्। हाल उनी प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्षका रूपमा संगठन विस्तारमा क्रियाशील छन् ।
त्यसैगरी, जिल्ला समितिले सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादव, क्षेत्र नं. २ बाट भरत चौधरी तथा क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ ।
जसपा नेपालले “संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” को मूल नारासहित आगामी निर्वाचनका लागि संगठनात्मक तयारीलाई तीव्र बनाउँदै लगेको पार्टीले जनाएको छ ।


