राैतहट, पुस २३ गते ।
अघिल्ला वर्षहरूमा मध्य जाडोयाममा गोलभेँडा बिक्री नहुँदा चिन्तामा पर्ने रौतहट र सर्लाहीका किसान यस वर्ष भने बजारमा आएको अप्रत्याशित मूल्य वृद्धिले उत्साहित भएका छन् ।
सामान्यतया शीतलहर चल्ने समयमा प्रतिकेजी १० देखि १२ रुपैयाँमै पनि बिक्री गर्न कठिन हुने गोलभेँडाले यस वर्ष भने उच्च मूल्य पाएको छ । हाल किसानले बोटबाटै प्रतिकेजी करिब १०० रुपैयाँमा व्यापारीलाई गोलभेँडा बिक्री गरिरहेका छन् । किसानबाट खरिद गरिएको गोलभेँडा खुद्रा बजारमा उपभोक्तासम्म पुग्दा प्रतिकेजी १२० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
किन बढ्यो गोलभेँडाको मूल्य ?
गोलभेँडाको मूल्य बढ्नुको मुख्य कारण यस वर्ष उत्पादनमा आएको उल्लेखनीय कमी हो। रौतहट जयनगरका किसान शिवदयाल यादवका अनुसार कात्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण धेरै किसानका गोलभेँडाका बेर्ना नष्ट भएका थिए। वर्षापछि धेरै किसानले पुनः खेती गर्न नपाउँदा उत्पादन स्वाभाविक रूपमा घटेको उहाँको भनाइ छ ।
यसबाहेक बेर्ना नष्ट भएपछि बजारमा बीउको अभाव देखिनुले पनि उत्पादन घट्न सहयोग पुगेको किसानहरू बताउँछन्। मागको तुलनामा आपूर्ति न्यून हुँदा पुसको चिसो मौसममै गोलभेँडाको मूल्य असामान्य रूपमा बढेको हो ।
निर्यात र बजार अवस्था
सर्लाहीको लालबन्दी बजारका व्यापारी मोहम्मद उस्मानका अनुसार मध्य जाडोयाममा गोलभेँडाले यति उच्च मूल्य पाएको यो पहिलो अनुभव हो। हाल सर्लाहीको लालबन्दी र सासापुरस्थित संकलन केन्द्रबाट दैनिक एक हजार क्रेटभन्दा बढी गोलभेँडा काठमाडौंसहित देशका विभिन्न प्रमुख सहरतर्फ पठाइँदै आएको छ ।
रौतहट र सर्लाही जिल्लाका अधिकांश क्षेत्रलाई व्यावसायिक गोलभेँडा उत्पादनको पकेट क्षेत्रका रूपमा लिइने गरिएको छ ।





