जनकपुरधाम, पुस २३ गते ।
मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवारले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।
मधेश प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला, दलित, अल्पसंख्यक/अपाङ्गता भएका व्यक्ति तथा अन्य समूह गरी चारवटा कोटाबाट उम्मेदवारी परेको हो । सबै समूहमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका छन् भने जनता समाजवादी पार्टी नेपालले तीन समूह, नेपाली कांग्रेसले दुई समूह तथा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक–एक समूहमा उम्मेदवारी दिएका छन् ।
महिला कोटामा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल प्रतिस्पर्धामा छन् । दलित समूहबाट जसपा नेपालकी चमेली देवी दास, कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार बनेका छन् ।
अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति समूहमा नेकपाका रामनन्दन प्रसाद, कांग्रेसका रञ्जित कर्ण तथा जसपा नेपालका शैलेश कुमार चौधरीले उम्मेदवारी दिएका छन् । यस्तै, अन्य समूहमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।
मधेश प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३७० जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस निर्वाचनका लागि मधेश प्रदेशमा कांग्रेस, एमाले, जसपा नेपाल र लोसपा नेपालबीच सहकार्यको समझदारी कायम रहेको जनाइएको छ ।

