गाैशाला, पुस २४ गते ।
सर्लाहीमा वन चौकीदारको हत्या काठ तस्करीसँग सम्बन्धित विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पुस १९ गते ईश्वरपुर नगरपालिका–२ राईटरखोट टोलमा सगरनाथ वन विकास परियोजनामा कार्यरत ५२ वर्षीय रामेश्वर महतोको घाँटी छिनाएर हत्या गरिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा सोही क्षेत्रका रुपनारायण महतोका छोरा रामवली महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाही प्रहरीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार शंकाको आधारमा हत्या भएकै दिन साँझ रामवलीलाई उनकै निवासबाट पक्राउ गरिएको हो ।
प्रहरीले जनाएको अनुसार रामेश्वर महतोको टाउकोविहीन शव भक्तिपुरस्थित प्लट नम्बर–१० नजिकको जंगलमा झाडीभित्र फेला परेको थियो। घटनास्थलबाट “NEKISOO” लेखिएको कालो चप्पल र रगत लागेको बन्चरो बरामद भएपछि अनुसन्धान थप अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्ति लामो समयदेखि जंगल क्षेत्रमा टिक र मसला जातका रुख अवैध रूपमा काट्ने कार्यमा संलग्न रहेको खुलेको छ। चौकीदार रामेश्वरले पटक–पटक अवैध कटानी रोक्न चेतावनी दिँदै आएका थिए। यसैक्रममा दुवैबीच एकपटक जंगलमै झगडा भएको विवरण स्थानीयबाट प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटना हुनु केही दिनअघि रामेश्वरले चोरी गरी राखिएको दाउरा नियन्त्रणमा लिएपछि रामवलीले ज्यान मार्ने धम्की दिएको तथ्य पनि अनुसन्धानमा खुलेको डीएसपी राईले जानकारी दिए।
हाल पक्राउ परेका रामवली महतोविरुद्ध ज्यान मार्ने कसूरमा मुद्दा दर्ता गरी ६ दिनको म्याद थप गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय केशरगंजमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

