गाैशाला, पुस २६ गते ।
धनुषाको मिथिला नगरपालिका–२ अन्तर्गत महेन्द्रनगर नजिक रहेको सतलोक आश्रम वरपर ऐलानी जग्गाको विषयलाई लिएर उत्पन्न विवाद झडपमा परिणत हुँदा दुबै पक्षका गरी एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
स्थानीयवासीका अनुसार आश्रमले लामो समयदेखि सरकारी स्वामित्वको ऐलानी जग्गा अनधिकृत रूपमा प्रयोग गर्दै आएको आरोप छ। सोही विषयमा जग्गा खाली गराउन पुगेका स्थानीय र आश्रममा आबद्ध व्यक्तिहरूबीच विवाद चर्किँदै गएपछि हातहालाहालको अवस्था सिर्जना भएको हो ।
झडपपछि आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत महेन्द्रनगरको औरही पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार आश्रमका केही अनुयायीहरूले स्थानीयलाई लखेट्दै कुटपिट गरेपछि दुबै पक्ष आमनेसामने भई झडप भएको थियो ।
घटनामा घाइते भएका व्यक्तिहरूलाई स्थानीय प्रशासनको समन्वयमा उपचारका लागि जानकी मेडिकल कलेज तथा प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रशासनले जनाएको छ ।

