राजेश सिंह
गौशाला, पुस २७ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित प्ररियामा कमला सिँचाइ आयोजनाअन्तर्गत प्रयोगमा रहेको ट्रान्सफर्मर चोरी भएको छ । ट्रान्सफर्मर चाेरी भएपछि सिँचाइ सेवा अवरुद्ध बनेको भन्दै स्थानीय किसानहरू चिन्तित भएका छन् ।
गएराति कान्ती बजार डिप ट्युबवेल जल उपभोक्ता समितिको बोर्डिङमा जडान गरिएको ट्रान्सफर्मरबाट अज्ञात समूहले फ्युज, मिटरका तार तथा अर्थिङ काटी ट्रान्सफर्मरभित्रको तामाका सामग्री अर्थात ट्रान्सर्फमर चोरी गरेर लगेका छन् ।
स्थानीयका अनुसार पछिल्ला केही महिनादेखि यस क्षेत्रमा सिँचाइ प्रयोजनमा प्रयोग हुने मोटर र ट्रान्सफर्मर चोरी तथा तोडफोडका घटनाहरू बढ्दै गएका छन् । यसले किसानहरूको खेती प्रणालीमा प्रत्यक्ष असर पार्नुका साथै स्थानीय सुरक्षाप्रति समेत गम्भीर प्रश्न उठाएको छ ।
कृषकहरूका अनुसार यसअघि पनि ट्रान्सफर्मरको फ्युज, मिटरको तार र अर्थिङ काटेर क्षति पुर्याउने प्रयास भएको बताएका छन् । बारम्बार यस्ता घटना दोहोरिँदा सिँचाइ सेवा प्रभावित हुनुका साथै किसानहरू आर्थिक नोक्सानीको जोखिममा परेका छन् ।
किसान तथा उपभोक्ता समितिले घटनामा संलग्न दोषीको पहिचान गरी कडा कार्वाही गर्न र सिँचाइ संरचनाको सुरक्षाका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् ।



