कपिलवस्तु, पुस २९ गते ।
लामो समयदेखि जीर्ण अवस्थामा रहेको कपिलवस्तुको बुद्धभूमि नगरपालिका अन्तर्गतको बिजगौरी–बुढ्ढी सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । तौलिहवादेखि बिजगौरी हुँदै बुढ्ढीसम्म फैलिएको सडकको पहिलो चरणमा बिजगौरीबाट उत्तरतर्फ करिब १४ सय मिटर खण्डमा निर्माण कार्य अघि बढाइएको हो ।
सडक डिभिजन कपिलवस्तुको २ करोड २४ लाख रुपैयाँको लागतमा अक्सफाल्ट प्रविधिबाट सडक निर्माण सुरु गरिएको हो। ठेक्का पाएको इन्द्रेणी गंगा जेभीले कामको जिम्मा लिएको छ । निर्माण कम्पनीका प्रतिनिधि थानेश्वर घिमिरेका अनुसार हाल सब–बेसको काम अन्तिम चरणमा पुगेको छ ।
सब–बेसपछि बेस तह तयार गरी त्यसपछि अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गरिने योजना रहेको उनले बताए । मौसम र समयले साथ दिएमा फागुन महिनाभित्र उक्त खण्डको काम सकिने गरी निर्माण अघि बढाइएको उनको भनाइ छ ।
बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडा सदस्य सन्दीप पाण्डेयले सडक निर्माण तीव्र गतिमा भइरहेको र गुणस्तरमा ध्यान दिइएकाले स्थानीयवासी सन्तुष्ट रहेको बताए ।
यसअघि २०६० सालमा तत्कालीन जिविसमार्फत ग्रामीण सडक पूर्वाधार परियोजना र स्थानीय श्रमदानको सहयोगमा करिब १० करोड रुपैयाँको लागतमा तौलिहवा–बिजगौरी–बुढ्ढी खण्डको २१ किलोमिटर सडक निर्माण गरिएको थियो। तर करिब दुई दशकसम्म मर्मत नहुँदा सडक अत्यन्तै जीर्ण बनेको थियो ।
बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले उक्त सडकलाई नगरको गौरवको आयोजनाका रूपमा अघि बढाइएको जानकारी दिए । उनका अनुसार शहरी विकास मन्त्रालयबाट ६ करोड, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड र नगरपालिकाबाट साढे १० करोड रुपैयाँ गरी कुल साढे १९ करोड बजेट व्यवस्था गरिएको छ ।
उक्त बजेटअनुसार नगरपालिकाको स्रोतबाट साढे ४ किलोमिटर र शहरी विकास मन्त्रालयको बजेटबाट २ हजार ६ सय मिटर सडक निर्माण कार्य सुरु भएको छ । बिजगौरीदेखि बुढ्ढीसम्मको करिब नौ किलोमिटर सडक चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी बुढ्ढीको उत्तरतर्फ शहरी विकास मन्त्रालयको ३ करोड रुपैयाँको लागतमा करिब ४ सय मिटर सडक पक्की गर्ने काम पनि सुरु भइसकेको छ ।

