काठमाडौँ, पुस २९ गते ।
विभिन्न १८ राजनीतिक दलका समानुपातिक सूचीमा रहेका १६४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने प्रक्रिया अन्तर्गत ती उम्मेदवारहरूले नाम हटाएका हुन् ।
आयोगले नाम फिर्ता लिइएका स्थानमा नयाँ नाम सिफारिस गर्न सम्बन्धित राजनीतिक दलहरूलाई जानकारी गराइसकेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका छन् ।
आयोगको विवरणअनुसार सबैभन्दा बढी उम्मेदवारी फिर्ता लिनेमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अगाडि रहेको छ । लोसपाका ७८ जना उम्मेदवारले समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन् । लोसपा र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकता भएपछि सूची संशोधन गरिएको बताइएको छ ।
त्यसपछि जनता समाजवादी पार्टी नेपालका २१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । तेस्रो स्थानमा जनमत पार्टी रहेको छ, जसका २० जना उम्मेदवारले नाम हटाएका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का ४ जना तथा राष्ट्र निर्माण दल नेपालका ४ जना उम्मेदवारले पनि समानुपातिक सूचीबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

