धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, पुस २९ गते ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाको सभाहल खडैचामा सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा कानुनी व्यवस्थाबारे व्यापक छलफल गरिएको थियो ।
अधिवेशनमा सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था र गाउँपालिकाका समग्र कार्यालयगत गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए ।

यस्तै, गाउँसभा उपाध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी थारूले विजयनगर गाउँपालिकाको विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ सभामा पेश गरेकी थिइन्। उक्त विधेयक सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।
यसैगरी गाउँसभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले गाउँपालिकाको नियमित कामकाजलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन उद्देश्यसहित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८२, बेरुजु फर्स्योट कार्यविधि, २०८२, लेखा समिति कार्यसञ्चालन कार्यविधि, २०८२ तथा गाउँसभाको सचिवालय सञ्चालनसम्बन्धी कार्यविधि, २०८२ सभामा पेश गरेका थिए। प्रस्तुत सबै ऐन तथा कार्यविधिहरू सर्वसम्मतिले पारित भएको गाउँपालिकाले जनाएको छ ।
अधिवेशनको अन्त्यमा विविध समसामयिक विषयमा छलफल गर्दै सभाले स्थानीय तहमा सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

