काठमाडौं, पुस ३० गते ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित रूपमा सम्पन्न गराउने उद्देश्यले सरकारले मुलुकभर सुरक्षा संयन्त्रलाई सक्रिय बनाएको छ। निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा निकायहरू तयारीको अन्तिम चरणमा पुगेका छन् ।
लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको श्रृंखला मङ्गलबार मधेस प्रदेशको जनकपुरमा आएर सम्पन्न भएको हो। सङ्घीय गृह मन्त्रालय र सम्बन्धित प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष हुँदै आएको उक्त गोष्ठीमा यस वर्ष विशेष रूपमा निर्वाचन सुरक्षालाई प्राथमिक एजेन्डाका रूपमा अघि बढाइएको छ ।
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन हुने स्पष्ट पार्नुभयो। निर्वाचनलाई स्वच्छ र प्रभावमुक्त बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई आपसी समन्वयमा परिचालन गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना–२०८२’ लागू गरिसकेको छ। साथै निर्वाचन प्रहरीको भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी कार्यविधि–२०८२ पनि स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ ।
यसै योजनाअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाएको जनाएको छ। निर्वाचन अवधिभर करिब ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी तथा करिब ३४ हजार सशस्त्र प्रहरी परिचालन गरिने तयारी छ ।
मतदानस्थलको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीले देशभरका मतदानस्थललाई जोखिमका आधारमा वर्गीकरण गरेको छ। प्रहरीका अनुसार २ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० मतदानस्थल अति संवेदनशील सूचीमा राखी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।
सरकारले निर्वाचन प्रक्रियालाई विश्वसनीय र प्रभावमुक्त बनाउन सुरक्षा निकायबीच समन्वय, सूचनाको आदान–प्रदान तथा छिटो प्रतिक्रिया क्षमतालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

