राजेश सिंह
गाैशाला, माघ १ गते ।
महोत्तरी जिल्लाको बलवा नगरपालिकामा नवनिर्मित नगर कार्यपालिकाको प्रशासकीय भवनको समुद्घाटन नगर प्रमुख राम विजय महतोको कर–कमलबाट भव्य रूपमा सम्पन्न भएको छ ।
बलवा नगरपालिका–५ मा निर्माण गरिएको उक्त प्रशासकीय भवन “प्रशासनिक भवन निर्माण” शीर्षकको ठेक्काअन्तर्गत निर्माण गरिएको हो। Balwa Mun/W/NCB/01-77/78 नम्बरको ठेक्काअनुसार २०७८ साल असार १८ गते सम्झौता भई ४ करोड २८ लाख ८८ हजार रुपैयाँमा भवन निर्माण कार्य सम्पन्न गरिएको हो। भवन निर्माणको प्रारम्भिक कार्य सम्पन्न मिति २०८० साल असार १८ तोकिएको भए पनि पहिलो संशोधन अनुसार २०८१ साल असार १८ मा निर्माण कार्य पूरा भएको हो ।
नगर प्रमुख राम विजय महतोले भवन निर्माणका लागि संघीय सरकारबाट १ करोड रुपैयाँ सहयोग प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक बजेटबाट व्यवस्थापन गरी निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँले नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी, सहज र नागरिकमैत्री हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका इन्जिनियर हिरालाल मण्डलका अनुसार दुई तल्ले सो भवनको ग्राउन्ड फ्लोरमा १० वटा कोठा तथा २ वटा शौचालय रहेका छन् भने पहिलो तल्लामा ८ वटा कोठा, १ वटा बैठक हल र २ वटा शौचालयको व्यवस्था गरिएको छ। आन्तरिक स्रोतको अभावका कारण निर्धारित समयभन्दा दुई वर्ष ढिला गरी कुल चार वर्षमा भवन निर्माण कार्य सम्पन्न भएको उहाँले बताउनुभयो ।
समुद्घाटन समारोहमा मनरा शिस्वा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डे, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीका प्रमुख शेरबहादुर अधिकारी, बलवा नगरपालिका उप–प्रमुख राम दुलारी देवी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत उमेश महताे, १ देखि ११ नं. सम्मका वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
















