गाैशाला, माघ २ गते ।
महाेत्तरीकाे गौशाला बजारलाई व्यवस्थित, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ सरोकारवाला पक्षहरूको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा गौशालाका युवा, सञ्चारकर्मी, व्यापारी, जनप्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।
छलफलका क्रममा बजार क्षेत्रमा देखिँदै आएको अव्यवस्था, सवारी चापका कारण हुने जाम, अतिक्रमण तथा समग्र बजार व्यवस्थापनसँग सम्बन्धित विविध विषयहरूमा विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो । सहभागीहरूले हालको अवस्थाबाट दीर्घकालीन समाधानतर्फ जान समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
बैठकबाट आगामी माघ ४ गते आइतबार बिहान ८ बजे पुनः बैठक आयोजना गर्ने निर्णय गरिएको छ । सो अवसरमा व्यापार संघ तथा बजार व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू नगर प्रमुखको उपस्थितिमा लिने सहमति भएको छ ।
बैठकले गौशाला बजारलाई व्यवस्थित बनाउने साझा लक्ष्य हासिल गर्न सबै पक्षको सक्रिय भूमिका अनिवार्य रहेको निष्कर्ष निकालेको छ । साथै, तोकिएको मितिको बैठकमा स्थानीय तह, व्यापारी, युवा, सञ्चारकर्मी र समाजसेवीसहित गौशाला नगरपालिकाभित्रका सबै सरोकारवालालाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ ।
सबैको संयुक्त प्रयास र सहकार्यबाट गौशाला बजार व्यवस्थापनलाई दिगो र प्रभावकारी समाधानतर्फ लैजान सकिने अपेक्षा व्यक्त गरिएको छ ।

