काठमाडौं, माघ ४ गते ।
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादले कानुनी रूप लिँदै गएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता दिएको निर्णयविरुद्ध पूर्व सभापति शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवा पक्षको तर्फबाट आजै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिने जानकारी दिए । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै त्यसविरुद्ध राजनीतिक तथा कानुनी कदम चाल्ने निर्णय गरेको थियो ।
कानुनी प्रक्रियाको समन्वय तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । खड्का हाल वरिष्ठ कानुन व्यवसायीहरूसँग छलफल गर्दै रिटको तयारीमा जुटिरहेका छन् । स्रोतका अनुसार वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायत कानुनविद्हरू कानुनी टोलीमा छन् ।
यसअघि गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेका थिए, जसअनुसार गगन थापा सभापतिमा निर्वाचित भएका हुन् । तर देउवा पक्षले नियमित महाधिवेशनको समय तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको भन्दै त्यसलाई मान्यता नदिने अडान लिँदै आएको छ ।

