गाैशाला, माघ ६ गते ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका तर्फबाट रामचन्द्र मण्डलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । मण्डलले धनुषाधामस्थित निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको मनोनयन प्रस्तावकमा नेकपा एमालेका लेखा समिति सदस्य लक्ष्मीनारायण यादव र समर्थकमा पार्टी नेत्री सबिता यादव रहेका छन् । पूर्व सभामुख समेत भईसकेका मण्डलले हालै पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका हुन् ।
मण्डल यसअघि धनुषा क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यमा दुई पटक निर्वाचित भइसकेका छन् । २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका उनी २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट पुनः विजयी भएका थिए । पार्टी विभाजनपछि एमाले रोजेका मण्डल दोस्रो कार्यकालमा प्रदेशसभाको सभामुखसमेत बनेका थिए ।
राजनीतिक रूपमा संगठन निर्माणमा सक्रिय मानिने मण्डलले विशेषगरी माओवादी पृष्ठभूमिमा बलियो पकड जमाएको बताइन्छ। नेकपा एमाले धनुषाका पूर्व जिल्ला अध्यक्ष राजकिशोर यादवले धनुषा–१ मा पार्टीको संगठनात्मक अवस्था मजबुत रहेको दाबी गरेका छन् ।
मनोनयन दर्ताको अवसरमा एमाले नेता–कार्यकर्ताहरूले धनुषाधाम नगर क्षेत्रमा परिक्रमा गर्दै शक्ति प्रदर्शनसमेत गरेका थिए ।

