कुन क्षेत्रमा को–को उत्रिए मैदानमा ?
बिरगंज, माघ ६ गते ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाभरि कुल १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पर्सामा रहेका चारवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मंगलबार सम्पन्न मनोनयन दर्ताअनुसार ६५ जना दलका तर्फबाट र ४४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।
निर्वाचन क्षेत्र नं. १ : ३० उम्मेदवार
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ। यसमध्ये २० जना दलगत र १० जना स्वतन्त्र उम्मेदवार छन् ।
नेकपा एमालेबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि २०७४ र २०७९ सालको निर्वाचनमा उनी यही क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित भएका थिए। यसपटक एमालेबाट उम्मेदवार बनेका यादव तेस्रो जित (ह्याट्रिक) को प्रयासमा छन् ।
यस क्षेत्रका अन्य प्रमुख उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट पूर्वसांसद तथा केन्द्रीय सदस्य अनिल रुंगटा, जसपाबाट रामनरेस प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ, राप्रपाबाट नन्दकिशोर श्रीवास्तव लगायत रहेका छन् ।
निर्वाचन क्षेत्र नं. २ : ३२ उम्मेदवार
पर्सा क्षेत्र नम्बर २ मा ३२ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन अधिकृत मधु आचार्यका अनुसार यहाँ १८ जना दलगत र १४ जना स्वतन्त्र उम्मेदवार छन् ।
नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद अजयकुमार चौरसियाले उम्मेदवारी दिएका छन्। उनी २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील कुमार कानु, जसपाबाट उद्योगपति अशोक टेमानी, एमालेबाट रिमा यादव तथा राप्रपाबाट पूर्वसांसद विना कुमारी जैसवाल चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसको टिकट नपाएपछि पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं. ३ : २३ उम्मेदवार
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा २३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार यहाँ १४ जना दलगत र ९ जना स्वतन्त्र उम्मेदवार छन् ।
नेपाली कांग्रेसबाट पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी उम्मेदवार बनेका छन्। उनी २०७० सालमा सांसद निर्वाचित भए पनि २०७९ मा पराजित भएका थिए ।
यस क्षेत्रबाट नेकपा एमालेका रुपेश पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसिया तथा नेपाली कम्युनिष्ट पार्टीका छाटेलाल साह पनि मैदानमा छन् ।
निर्वाचन क्षेत्र नं. ४ : २४ उम्मेदवार
पर्सा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १३ जना दलगत र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद रमेश रिजाल उम्मेदवार बनेका छन् । उनी २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए ।
यस क्षेत्रमा एमालेबाट जालिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारु उम्मेदवार छन् ।
चार पूर्वमन्त्री चुनावी दौडमा
यसपटक पर्सा जिल्लामा उम्मेदवारी दिएका चार पूर्वमन्त्रीहरूमा
प्रदीप यादव, अजयकुमार चौरसिया, सुरेन्द्र प्रसाद चौधरी र रमेश रिजाल रहेका छन् ।

