गाैशाला, माघ ६ गते ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट डा. सुरेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
डा. यादव २०७४ सालदेखि यसै निर्वाचन क्षेत्रमा निरन्तर चुनावी प्रतिस्पर्धामा रहेका छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनी २०७९ को निर्वाचनमा भने नेपाली कांग्रेसका महेन्द्र रायसँग पराजित भएका थिए ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै डा. यादवले संघीयता जोगाउन र अधिकारलाई थप संस्थागत गर्न छाता छापलाई जिताउन सबै मतदातालाई आग्रह गरेका छन् । उनले मधेस आन्दोलनको उपलब्धि संरक्षण र संघीय संरचनाको सुदृढीकरणका लागि जसपा नेपालको भूमिका निर्णायक रहेको दाबी गरे ।
यस्तै, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरण भइसकेको सन्दर्भ उल्लेख गर्दै उनले यसले महोत्तरी–४ मा पार्टीको संगठनात्मक पकड अझ मजबुत भएको बताए । गठबन्धन र एकीकरणका कारण यस क्षेत्रबाट सकारात्मक नतिजा आउनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् ।

