गाैशाला, माघ ७ गते ।
मधेश प्रदेश सभाका चार जना सांसदले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार बन्नेमा एक पूर्व सभामुख, एक पूर्व मुख्यमन्त्री तथा अन्य पूर्वमन्त्रीहरू रहेका छन् ।
उम्मेदवारी दिने सांसदहरूमा रामचन्द्र मण्डल, सतिश सिंह, भरत साह र रहबार अन्सारी रहेका छन् । यसअघि एकल सिफारिसमा परेका एमालेका सरोज यादव, प्रमोद जयसवाल तथा कांग्रेसका विरेन्द्र सिंह अन्तिम समयमा आएर उम्मेदवारीबाट पछि हटेका छन् ।
पूर्व सभामुख रामचन्द्र मण्डल एमालेबाट धनुषा–१, पूर्व मुख्यमन्त्री सतिश सिंह स्वाभिमान पार्टीबाट सप्तरी–२, पूर्व अर्थमन्त्री भरत साह नेकपाबाट महोत्तरी–४ र पूर्व राज्यमन्त्री रहबार अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–४ बाट उम्मेदवार बनेका छन् ।
प्रदेश सभातर्फ यसअघि मण्डल धनुषा–१ (ख), सिंह सप्तरी–२ (क), साह महोत्तरी–१ (क), जयसवाल पर्सा–३ (क) र अन्सारी पर्सा–१ (क) बाट निर्वाचित भएका थिए ।
एमालेबाट एकल सिफारिस भएका महोत्तरी–४ का सरोज यादव, बारा–४ का प्रमोद जयसवाल तथा सर्लाही–४ का कांग्रेस नेता विरेन्द्र सिंह अन्तिम समयमा उम्मेदवारीबाट पछि हटेका हुन् । उनीहरूको स्थानमा क्रमशः निलम अधिकारी, कृष्णकुमार श्रेष्ठ (निसान) र कांग्रेस सभापति गगन थापा उम्मेदवार बनेका छन् ।
स्रोतका अनुसार टिकट प्राप्तिका लागि तीव्र प्रतिस्पर्धा भए पनि जित सुनिश्चित नदेखिएपछि केही नेताहरू उम्मेदवारीबाट पछि हटेका हुन् ।

