महोत्तरी, माघ ९ गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ स्थित निगौल चोकमा सरस्वती पूजाको पावन अवसर पारेर श्री वेवि फ्युचर ई. वोर्डिङ स्कुलको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।
विद्यालयको उद्घाटन गौशाला नगरपालिकाका नगर प्रमुख डा. दीपेन्द्र महतोले रिबन काटेर तथा दीप प्रज्वलन गरी गर्नुभएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख डा. महतोले गुणस्तरीय शिक्षा आजको अपरिहार्य आवश्यकता भएको बताउँदै नवप्रवर्तनशील र बालमैत्री वातावरणमा सञ्चालन हुने यस विद्यालयले क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले विद्यालय परिवारलाई सफलताको शुभकामना समेत दिनुभयो ।
विद्यालय प्रशासनका अनुसार श्री वेवि फ्युचर ई. वोर्डिङ स्कुल नयाँ शैक्षिक ढाँचामा आधारित भई स्थापना गरिएको हो। विद्यालयले बालबालिकालाई सुरक्षित, सेवा–सुविधायुक्त तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। आधुनिक शिक्षण विधि, अनुभवी शिक्षक र विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित कार्यक्रममार्फत शिक्षा स्तर अभिवृद्धि गर्ने विद्यालयको प्रतिबद्धता रहेको छ ।
नयाँ विद्यालय सञ्चालनमा आएपछि आफ्नै क्षेत्रमा गुणस्तरीय शिक्षा पाउने अवसर प्राप्त भएको भन्दै स्थानीय अभिभावकहरूले खुशी व्यक्त गरेका छन् ।


