गाैशाला, माघ १० गते ।
राष्ट्रियसभा सदस्य चयनका लागि भोलि निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया बिहान ९ बजेदेखि सुरु भएर दिउँसो ३ बजेसम्म चल्नेछ ।
राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ। तीमध्ये राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यबाहेक १८ पदका लागि निर्वाचन हुन लागेको हो। तर कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले भोलि १७ पदमा मात्र मतदान हुनेछ ।
सातै प्रदेशमा तोकिएका मतदान केन्द्रमार्फत निर्वाचन सम्पन्न गरिने आयोगले जनाएको छ। यस निर्वाचनमा प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। यद्यपि केही जनप्रतिनिधिले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दै पदबाट राजीनामा दिएका कारण उनीहरूको नाम मतदाता नामावलीबाट हटाइएको आयोगले स्पष्ट पारेको छ ।
आयोगका अनुसार १८ पदका लागि कुल ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारूढ दलहरूबीचको सहमतिअनुसार नेपाली कांग्रेसले ९ सिट र एमालेले ८ सिटमा उम्मेदवारी दिएका छन्। बाँकी एक सिटमा कांग्रेस र एमालेले लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाई समर्थन गरेका छन्। सहमति हुन नसकेपछि नेकपाले भने एकल रूपमा उम्मेदवारी दिएको छ ।
प्रदेशगत रूपमा हेर्दा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन्।

