चन्दन रजक
राजविराज : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले देश गम्भीर चुनौतीको चरणबाट गुज्रिरहेको बताउँदै समयमै सचेत नहुने हो भने राष्ट्रिय अस्तित्वमै प्रश्न उठ्न सक्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिनुभएको छ ।
शनिबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले अहिलेको संकट एकै क्षेत्रमा सीमित नरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार राजनीतिक, संवैधानिक, आर्थिक र सामाजिक सबै तहमा समस्या देखिएको छ ।
आजको अवस्था बहुआयामिक संकटको हो संविधानमाथि नै प्रहार भइरहेको देखिन्छ, जुन अत्यन्तै चिन्ताजनक विषय हो ।
डा. राउतले अन्तर्राष्ट्रिय अभ्यासलाई उदाहरण दिँदै केही देशहरूमा पहिला अस्थिरता सिर्जना गर्ने, त्यसपछि कमजोर सरकार खडा गर्ने र अन्ततः निर्वाचनमार्फत त्यसलाई वैधता दिने प्रवृत्ति देखिएको उल्लेख गर्नुभयो। नेपालमा पनि त्यस्तै परिस्थिति दोहोरिन सक्ने आशंका व्यक्त गर्दै उहाँले सबै नागरिक र राजनीतिक शक्तिहरू सतर्क रहन आवश्यक रहेको बताउनुभयो ।
यसअघि पनि देशमा जनताको असन्तुष्टि गहिरो रहेको स्मरण गराउँदै सेवा प्रवाहको कमजोरी, बढ्दो भ्रष्टाचार र आर्थिक अवसरको अभावले जनजीवन प्रभावित भएको बताउनुभयो। “जनता लामो समयदेखि दबाबमा थिए, तर ती समस्याहरूलाई सामान्य रूपमा स्वीकार गर्दै आइयो,” उहाँले भन्नुभयो ।
यही पृष्ठभूमिमा जनमत पार्टीको उदय भएको उल्लेख गर्दै अध्यक्ष राउतले आफूले प्रस्तुत गरेको ‘नयाँ गणतन्त्र’ सम्बन्धी राजनीतिक दस्तावेज संकट समाधानतर्फ उन्मुख रहेको स्पष्ट पार्नुभयो। “हामीले पछाडि फर्कने सुधार होइन, अगाडि बढ्ने र व्यवस्थालाई मजबुत बनाउने सुधारको कुरा गरेका हौं,” उहाँले जोड दिनुभयो ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका राउतले निर्वाचन आचारसंहिता सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा राख्नुभयो। साथै, जनताको समर्थन आफ्नो पक्षमा रहेको भन्दै आगामी निर्वाचनमा विजयी हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

