काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडान गर्न लागेको टर्किस एयरलाइन्सको विमान धावनमार्गबाट पुनः पार्किङ क्षेत्रमा फर्काइएको छ ।
आइतबार दिउँसो १२:३५ बजे उडान तय भएको टीके–७२७ उडान नम्बरको उक्त विमान उडानका लागि धावनमार्गमा पुगिसकेको अवस्थामा प्राविधिक संकेत (इन्डिकेशन) मा समस्या देखिएको जनाइएको छ ।
उडानपूर्व देखिएको उक्त प्राविधिक संकेतका कारण सुरक्षालाई ध्यानमा राख्दै विमानलाई आकस्मिक रूपमा पार्किङ वेमा फर्काइएको हो । विमानस्थल स्रोतका अनुसार आवश्यक प्राविधिक जाँचपछि समस्या समाधान भएमा मात्र विमानले उडान भर्नेछ ।
हाल यात्रु तथा चालक दलको सुरक्षालाई प्राथमिकता दिँदै प्राविधिक टोलीले विमानको विस्तृत परीक्षण गरिरहेको बताइएको छ ।

