काठमाडौं, माघ ११ गते ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका छन्। उनीहरूले आगामी राजनीतिक बाटोबारे भने स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् ।
हस्ताक्षर नराखी जारी गरिएको विज्ञप्तिमा उनीहरूले अब कुनै दल विशेषको पक्ष वा विपक्षमा नभई विचार, मूल्य र नागरिक सरोकारलाई केन्द्रमा राखेर क्रियाशील रहने उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “यस कदमलाई कुनै दलप्रतिको समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं ।”
पार्टी त्याग गर्ने नेताहरूमा डा. विशालकुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजीव भट्टराई रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालबीचको एकता प्रक्रिया भंग भएपछि यी नेताहरू घिसिङ नेतृत्वसँग असन्तुष्ट बनेका थिए। उनीहरूको धारणा एकताको पक्षमा लचकता अपनाउँदै सहमति खोजिनु पर्नेमा केन्द्रित रहेको बताइएको छ ।
उज्यालो नेपालको कोटाबाट रास्वपाको बन्दसूचीमा परेकी रिमा विश्वकर्मा भने रास्वपामै कायम रहेकी छन्। यस्तै, डा. तारा जोशीलाई रास्वपाले डडेलधुराबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएको छ भने अरविन्द साह बारा क्षेत्र नं. ३ बाट चुनावी मैदानमा छन् ।
पार्टी परित्याग गर्ने नेताहरू रास्वपामा समायोजन हुन इच्छुक रहेको बताइन्छ। रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले उनीहरूमध्ये केहीलाई केन्द्रीय समितिमा समेट्न सभापति रवि लामिछानेसमक्ष प्रस्ताव गरे पनि उक्त प्रस्ताव अस्वीकार भएको स्रोतले जनाएको छ ।
विज्ञप्तिमा संलग्न एक नेताले भनेका छन्, “यदि रास्वपाले उचित भूमिका र स्थान दिन्छ भने हामी यही पार्टीमा रहन्छौं, अन्यथा वैकल्पिक राजनीतिमा आफ्नै ढंगले सक्रिय हुनेछौं ।”

