बिराटनगर, माघ ११ गते ।
राष्ट्रियसभा सदस्यमा कोशी प्रदेशबाट एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन्।
आज भएको निर्वाचनमा महिलाबाट एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गरीन् । मेचेले ७ हजार १७३ मत प्राप्त गरिन्। न्यौपानेले २ हजार २६८ मत पाईन्।
यस्तै दलितबाट नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गरेका छन् । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे । सुन्दासले २ हजार २७ मत पाएका छन् ।
कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १ सय ३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका १ सय १३, एमालेका १ सय ८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४–४ र स्वतन्त्र २ जना रहेका छन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए ।

