माेरङ, माघ १३ गते ।
मोरङ: मोरङको सुनवर्षि नगरपालिका–१ गिर्दलियास्थित मुस्लिम समुदायको बाक्लो बस्तीमा गएराति भीषण आगलागी हुँदा ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
प्रारम्भिक विवरण अनुसार आजात मियाँको घरमा विद्युत् सर्ट भई राति करिब १० बजे आगलागी सुरु भएको थियो । आगो तीव्र रूपमा फैलिँदै जाँदा आजात मियाँको घर र किराना पसलसहित अलाहदिन मियाँ, घोता मियाँ, फर्मु मियाँ तथा असलम मियाँलगायतका स्थानीयवासीका घरहरूमा ठूलो क्षति पुगेको छ ।
आगलागी नियन्त्रणका लागि पथरी शनिश्चरे, रंगेली, कानेपोखरी र बेलबारीबाट आएका दमकल प्रयोग गरिएको थियो। आगो अन्य घरमा फैलिन नदिन केही घरहरू भत्काउनुपर्ने अवस्था समेत आएको थियो ।
आगलागीमा आजात मियाँको घरमा रहेको एक ब्याउने गाई जलेर मरेको छ भने दर्जनौँ पशुचौपाया घाइते भएका छन्। साथै घरभित्र राखिएको खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीसमेत पूर्ण रूपमा नष्ट भएको छ ।
घटनाका कारण ८ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन्। पीडित परिवारलाई तत्काल राहत, खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासीले बताएका छन् ।

