काठमाडौं, माघ १३ गते ।
प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधार सहितका विकास निर्माण अघि बढाउँदा धार्मिक आस्था र सांस्कृतिक सम्पदामा कुनै किसिमको असर पर्न नदिन विशेष ध्यान दिन निर्देशन दिएकी छन् ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रूतमार्गको निरीक्षणका क्रममा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्थानीयवासीका चासो र सरोकारलाई गम्भीर रूपमा लिएर समाधान खोज्न आयोजनासम्बद्ध निकायलाई निर्देशन दिइन् ।
प्रधानमन्त्री कार्कीले स्थानीयको भावना र विश्वासमा चोट नपुग्ने गरी विकास कार्य अघि बढाउनुपर्नेमा जोड दिँदै आवश्यक परे सडकको रेखांकन र जिरो बिन्दुसमेत पुनरावलोकन गर्न तयार हुनुपर्ने बताइन्। उनले भौतिक संरचना निर्माण गर्दा पर्याप्त खुला र खाली स्थानको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
उनले भनिन्, “प्राकृतिक विपद्, मेला–पर्व, धार्मिक तथा सामाजिक गतिविधिका बेला खुला स्थान अत्यन्त आवश्यक हुन्छ। खाली ठाउँ देख्ने बित्तिकै संरचना बनाउने सोच त्यागेर योजना बनाउँदा नै पर्याप्त खुला स्थानको व्यवस्था गर्नुपर्छ ।” यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजनाका प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको प्रगति, चुनौती र आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्री तथा विभिन्न मन्त्रालयका सचिवहरू सहभागी थिए। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रूतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृतिमा समय लाग्दा सुरुमा केही ढिलाइ भए पनि हाल आयोजनाको भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको जनाइएको छ ।
कुल ७० दशमलव ९७७ किलोमिटर लम्बाइको यस आयोजनाअन्तर्गत ८७ भन्दा बढी पुल निर्माण गर्नुपर्नेछ, जसमा ८२ मिटरसम्म अग्ला विशेष प्रकृतिका पुलसमेत रहेका छन्। तीमध्ये अधिकांश पुल निर्माण अन्तिम चरणमा पुगेका छन्। आयोजना विसं २०८३ चैत मसान्तभित्र प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्बभित्रै सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।
यो द्रूतमार्ग निर्माणपछि काठमाडौं उपत्यका र मध्यतराईबीच सिधा सम्पर्क स्थापित हुने छ। यसले ढुवानी लागत र समय घटाउने तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजनाअन्तर्गत सात वटा सुरुङसमेत निर्माणाधीन रहेका छन् ।

