जलेश्वर, माघ१४ गते ।
परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीको अवस्था बुझ्न महोत्तरी जिल्लाका सिमावर्ती मतदान केन्द्रहरूको अनुगमन गर्नुभएको छ ।
बुधबार सदरमुकाम जलेश्वर पुग्नुभएका मन्त्री शर्माले सीमावर्ती गाउँ मलिवाडा र नैन्हीमा रहेका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गर्दै निर्वाचन पूर्वतयारीबारे जानकारी लिनुभएको हो ।
अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले निर्वाचन सफल बनाउन सरकारले आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले महोत्तरी आएको बताउनुभयो। “निर्वाचनका क्रममा कुनै किसिमका समस्या वा कठिनाइ छन् कि भन्ने कुरा बुझ्न आएको हुँ,” मन्त्री शर्माले भन्नुभयो ।
उहाँले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै सुरक्षा अधिकारीहरूलाई निर्वाचन लक्षित आवश्यक निर्देशन समेत दिनुभएको छ ।
अनुगमनका क्रममा मन्त्री शर्माले जिल्लामा तयार गरिएको सुरक्षा योजनाबारे सुरक्षा निकायका अधिकारीसँग जानकारी लिनुभएको थियो। सो अवसरमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीहरूले जिल्लाको निर्वाचन सुरक्षा तयारीबारे जानकारी गराएका थिए ।

