गाैशाला, माघ १५ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ प्रडियामा बुधबार राति घर फर्किंदै गरेका स्थानीय विषेश्वर सिंह कुशवाहामाथि आक्रमण गरी मोटरसाइकल र मोबाइल लुटिएको घटनामा संलग्न तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति करिब साढे आठ बजे गौशाला–१२ का स्थायी बासिन्दा विषेश्वर सिंह कुशवाहा ज.५ प ४३२४ नम्बरको डिस्काेभर मोटरसाइकल चलाउँदै घरतर्फ आउँदै थिए । सुनसान स्थानमा पुगेकै बेला स्थानीय तीन जना युवाले बाटो छेकी मोटरसाइकल रोकी प्रतिकार गर्ने मौका नदिँदै पछाडिबाट फलामको रड प्रयोग गरी टाउकोमा प्रहार गरेका थिए । अचानक भएको आक्रमणबाट कुशवाहा गम्भीर घाइते भई सडकमा लडेका थिए ।
आक्रमणपछि लुटेराहरूले कुशवाहाको मोटरसाइकल र एक थान मोबाइल फोन लुटी फरार भएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौशाला मातहत प्रहरी चौकी कान्तिबजार तथा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको संयुक्त प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर खोजतलास सुरु गरेको थियो ।
प्रहरीले सम्भावित स्थानहरूमा खोजतलास तीब्र बनाउने क्रममा आज बिहान गौशाला नगरपालिका–१२ र सर्लाही जिल्लाको सिमानामा रहेको जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा उक्त घटनामा संलग्न १८ वर्षीय निर्मल साह सोनार, १८ वर्षीय नितेश कुमार कुशवाहा र १८ वर्षीय मनिष रामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जना गौशाला नगरपालिका–१२ कै स्थायी बासिन्दा रहेको र उनीहरूलाई इलाका प्रहरी कार्यालय गौशालामा राखेर थप अनुसन्धान भइरहेको उपरीक्षक भट्टले जानकारी दिनुभयो । घाइते विषेश्वर सिंह कुशवाहाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि गौशाला क्षेत्रमा रात्रीकालीन सुरक्षाप्रति चिन्ता बढेको भन्दै स्थानीयवासीले प्रहरी गस्ती थप प्रभावकारी बनाउन माग गरेका छन् ।

