बर्दिवास, माघ १६ गते ।
पदम शम्सेर खड्का स्मृति प्रतिष्ठानले बर्दिवासमा शुक्रबार २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। बर्दिवासस्थित विनायक व्याङ्कुट, सिन्धुली रोडमा आयोजित कार्यक्रममा २०८२ सालका लागि पहिलो र दोस्रो चरणको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बैंक चेकमार्फत छात्रवृत्ति वितरण गरिएको हो ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू विद्यालयको शुल्क विवरणसहित आफ्ना अभिभावकसँग उपस्थित भएका थिए। आर्थिक रूपमा कमजोर तर अध्ययनशील विद्यार्थीलाई लक्षित गर्दै प्रतिष्ठानले यस वर्ष २४ जनालाई छनोट गरेको जनाएको छ ।
कार्यक्रमको सञ्चालन कुमार घिमिरेले गरेका थिए। प्रमुख अतिथिका रूपमा बर्दिवास नगरपालिका शिक्षा शाखाका प्रमुख रेवती पराजुली सहभागी थिए। कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपक बरालसहित पत्रकार गोपाल बराल, विशाल बराल, डा. अजय साह, आशा तोलाङे, जीवनराज दाहाल र मिथलेस सिंहको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष बिष्णु खड्काले आफ्ना संघर्षपूर्ण जीवन अनुभव र पारिवारिक प्रेरणाबाट प्रतिष्ठान स्थापना भएको बताए। आर्थिक अभावका कारण एसएलसीपछि एक वर्ष अध्ययन गर्न नपाएको र उच्च शिक्षाका लागि जनकपुर तथा काठमाडौं जान कठिनाइ भोग्नुपरेको अनुभव सुनाउँदै उनले अभिभावकका प्रेरणादायी शब्दकै कारण २०७७ सालदेखि सामाजिक सेवामा सक्रिय भएको उल्लेख गरे ।
अध्यक्ष खड्काका अनुसार प्रतिष्ठानले छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्दा घर–घर पुगेर, छिमेकीसँग बुझेर वास्तविक आर्थिक अवस्था र शैक्षिक स्तरको मूल्याङ्कन गर्दै आएको छ। हालसम्म ५७ जना विद्यार्थीले प्रतिष्ठानको सहयोग पाइसकेका छन्। यस वर्ष आर्थिक अवस्था कमजोर विद्यार्थीका साथै उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई विशेष पुरस्कारसमेत प्रदान गरिएको थियो ।
छात्रवृत्ति सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै अध्यक्ष खड्काले अनुशासनहीनता देखिए वा पढाइ छाडेमा रकम फिर्ता लिइने चेतावनी पनि दिए। आगामी दिनमा पनि जेहेनदार विद्यार्थीलाई सहयोग निरन्तर रहने र मार्कसिटको आधारमा मात्रै थप सहयोग गरिने जानकारी उनले दिए ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै विद्यार्थी तथा अभिभावकहरू उत्साहित देखिएका थिए ।

