मोरङ, माघ १७ गते ।
खेलकुदमार्फत सामाजिक सद्भाव, एकता र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम सुन्दरहरैँचा सिर्जनशील रन शनिबार सम्पन्न भएको छ । “एकताका लागि दौड” भन्ने नाराका साथ सिर्जनशील क्लबको आयोजनामा भएको रनमा विभिन्न उमेर समूहका गरी ५ सयभन्दा बढी धावकहरू सहभागी भएका थिए ।
प्रतियोगिताअन्तर्गत खुला १० किलोमिटर दौडको महिला वर्गमा दिर्पा बस्नेत प्रथम, यदिका देवान दोस्रो र रुदिना महतारा तेस्रो हुन सफल भए । पुरुषतर्फ केनियाका जुलियाफ प्रथम, रमेश लिम्बु दोस्रो तथा तेन्जिन शेर्पा तेस्रो स्थानमा रहे। विजेताहरूले क्रमशः १७ हजार, ९ हजार र ५ हजार ५ सय रुपैयाँसहित मेडल प्राप्त गरेका थिए ।
त्यस्तै, ५ किलोमिटर भेट्रान दौडमा पुरुषतर्फ अभिनारायण अधिकारी प्रथम, रेसम लिम्बु दोस्रो र विजयकुमार राई तेस्रो भए भने महिलातर्फ कुसुम लिम्बु प्रथम, कौसिला तामाङ दोस्रो र कुमारी खतिवडा तेस्रो भइन् ।
५ किलोमिटर अन्डर–१६ समूहमा पुरुषतर्फ सामुएल लिम्बु प्रथम, नवराज खड्का दोस्रो र रोहनकुमार माझी तेस्रो भए भने महिलातर्फ मदिरा महतारा प्रथम, सपना शर्मा दोस्रो र अनिशा कार्की तेस्रो स्थानमा रहे। यस समूहका विजेताहरूले क्रमशः १० हजार, ५ हजार ५ सय र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यसैगरी ३ किलोमिटर अन्डर–१२ दौडमा पुरुषतर्फ प्रिन्स चौधरी, रेहान विक र अब्राज मन्सुरी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। महिलातर्फ रेस्मा दर्जी प्रथम, दिपिका गुरुङ दोस्रो र सुर्ती चौधरी तेस्रो भइन् ।
३ सय मिटर ह्विलचियर दौडमा विष्णुकान्त चौधरी प्रथम, सन्जिप लिम्बु दोस्रो र राजन बराइली तेस्रो भएका थिए। उनीहरूले क्रमशः ७ हजार, ३ हजार ५ सय र २ हजार रुपैयाँ पुरस्कार पाए ।
कार्यक्रम सिर्जनशील क्लबका अध्यक्ष एकराज पोखरेलको अध्यक्षतामा तथा मोरङ जिल्ला समन्वय समिति प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि राईले सिर्जनशील रनले समाजलाई जोड्ने सेतुको काम गरेको उल्लेख गर्दै खेलकुदले स्वस्थ र अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईंको विशिष्ट आतिथ्यता रहेको थियो। उनले नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतियोगितालाई निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।
त्यस अवसरमा वडा नं. ३ का अध्यक्ष विदुरप्रसाद ढुंगाना, पूर्व वडा अध्यक्ष जीवन ढुंगाना, नगर खेलकुद विकास समितिका सदस्य–सचिव खड्ग श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
दौडको रुट सिर्जनशील क्लबबाट सुरु भई घेरामुनी, बर्मन्य, सुधार केन्द्र, त्रियुगा, सगरमाथा स्कुल, लक्ष्मीनारायण मन्दिर, मकालु स्कुल हुँदै पुनः सिर्जनशील क्लबमै पुगेर समापन गरिएको थियो ।





