विराटचोक, माघ १७ गते ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा अवस्थित शिल्पी नाट्य केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ । नयाँ नाटक ‘छुटेका सपना’ को शनिबार गरिएको पहिलो मञ्चनसँगै नाट्य केन्द्रको विधिवत उद्घाटन सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाटकको शुभारम्भ गर्नुभएको थियो । उद्घाटनपछि मञ्चन गरिएको नाटक अवलोकन गर्न दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शिल्पी नाट्य केन्द्रलाई आगामी दिनमा भुल्के एम्पी थिएटरका रूपमा विकास गर्दै कला र संस्कृतिको केन्द्र बनाउने लक्ष्य लिइएको आयोजकले बताएका छन् । उद्घाटनकै दिन मञ्चन गरिएको नाटकले दर्शकको उत्साहपूर्ण सहभागिता पाएको थियो ।
नाटक ‘छुटेका सपना’ ले समाजमा देखिँदै आएका राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यात्मक शैलीमा उजागर गरेको छ । भ्रष्टाचार, ढिलासुस्ती, अव्यवस्था र गरिबीका कारण किसानले भोग्नुपरेका पीडालाई कलाकारहरूले प्रभावकारी ढंगले मञ्चमा प्रस्तुत गरेका थिए ।
नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बि.सी. र उत्सव काकीँलगायत कलाकारहरूको अभिनय रहेको थियो ।
कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्नुभएको थियो । निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुवातका रूपमा लिएको उल्लेख गर्दै जन्मभूमिलाई नै नाट्य तथा सांस्कृतिक गन्तव्य बनाउने उद्देश्यसहित अघि बढेको बताउनुभयो ।
सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आम दर्शक एकै स्थानमा बसेर कला अनुभूति गर्न सकून् भन्ने चाहनाले एम्पी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ । नाट्य केन्द्रलाई व्यापारिक प्रयोजनभन्दा अलग राखी सामाजिक चेतनाको अभियानका रूपमा अघि बढाइने घिमिरेले स्पष्ट पार्नुभयो। साथै प्रत्येक दुई महिनामा नयाँ कार्यक्रम प्रस्तुत गर्ने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो ।












