गौशाला, माघ १७ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा कुनै पनि राजनीतिक दलसँग तालमेल वा गठबन्धन नभएको स्पष्ट पारेको छ ।
जसपा नेपाल निर्वाचन परिचालन सम्पर्क कार्यालय महोत्तरी–१ द्वारा शनिबार गौशाला नगरपालिका–५ मा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य रमेश कुमार महताे तथा उम्मेदवार योगनारायण महतोले उक्त जानकारी दिनुभएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले जसपा नेपाल एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको र पार्टीको जित सुनिश्चित रहेको दाबी गर्नुभयो । उहाँले अन्य दल वा व्यक्तिहरूले फैलाइ रहेको भ्रम र अफवाहप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै पार्टीको आधिकारिक निर्णय बाहेक अन्य हल्लामा नपर्न अनुरोध गर्नुभयो ।
नेता महतोले जनताको उल्लेख्य समर्थन र उत्साह देखिएकाले चुनावी परिणाम पार्टीको पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जसपा नेपालका वरिष्ठ नेता देवनारायण महतो, युवा नेता दिपलाल महतोसहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

