काठमाडौं, माघ १९ गते ।
प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङ, महावीर पुनलगायत व्यक्तित्वहरू जेन–जी पुस्ताको दबाबका कारण सरकारमा सहभागी गराइएको बताएकी छन् ।
राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारमा ल्याउँदा “सकुन्जेल काम गर्नुहोस्” भनेर आग्रह गरिएको उल्लेख गरिन्। उनका अनुसार पछि राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका चार मन्त्रीहरूबारे आफू सुरुबाटै जानकार थिइन् ।
प्रधानमन्त्री कार्कीले स्पष्ट पार्दै भनिन्, “सरकारमा बसेर चुनाव लड्ने संस्कार हुँदैन। चुनावमा जान चाहनेले राजीनामा दिनुपर्छ भन्ने कुरा पहिल्यै भनिएको थियो।” ती मन्त्रीहरू राजीनामा दिएपछि हाल सम्पर्कमा नरहेको पनि उनले बताइन् ।
सरकारमा रहँदा कुनै निजी फाइदा नलिएको बताउँदै उनले व्यंग्यात्मक ढंगले भनिन्, “सम्मानसाथ बिदाइ गरियो। चिया बाहेक उनीहरूले केही लिएनन्, धेरैमा दुई कप चिया पिएका होलान्।” ती सबै जेन–जीको दबाबमा सरकारमा आएका र सोही कारण बाहिरिएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले महावीर पुनलाई किताब बिक्री गरिरहेकै बेला सुधन गुरुङले आग्रह गरी सरकारमा ल्याएको प्रसंग पनि सुनाइन् । जगदीश खरेल र बब्लु गुप्ता युवापुस्ताका नेता भएकाले चुनावमा जानु हुँदैन भन्ने सोच आफूमा नरहेको उनले स्पष्ट गरिन् ।
चार मन्त्रीहरूलाई दोष नदिन आग्रह गर्दै कार्कीले भनिन्, “गल्ती खोज्नुपर्छ भने मलाई नै जिम्मेवार ठहर गर्नुहोस् ।”
महावीर पुन असन्तुष्ट भएर चुनावमा गएको दाबी गर्दै उनले पुनले अघि सारेका केही कानुनी प्रस्ताव देशका लागि उपयोगी भए पनि सीमित समयका कारण ती अघि बढाउन नसकिएको स्वीकार गरिन् ।
“ती प्रस्ताव राष्ट्रहितमै केन्द्रित थिए, तर समयले साथ दिएन,” प्रधानमन्त्री कार्कीले भनिन् ।
प्रधानमन्त्रीले राजनीतिमा रुचि नराख्ने केही व्यक्ति अहिले पनि सरकारमै रहेर काम गरिरहेको जानकारी दिँदै सरकारका मन्त्रीहरूलाई रास्वपाका भनेर गरिएको प्रचार भ्रामक भएको बताइन्। उनले यस्ता भ्रम नफैलाउन आग्रह समेत गरिन् ।

