जनकपुरधाम, माघ १९ गते ।
धनुषा जिल्लाको क्षेत्र न. २ को शहिदनगर नगरपालिका–यदुकुहास्थित आयुर्वेद भवनमा जनता समाजवादी पार्टी, नेपालका नगर कार्य समिति शहिदनगरद्वारा अगुवा नेता तथा कार्यकर्ताहरूबीच निर्वाचन सम्बन्धी विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आगामी निर्वाचनलाई प्रभावकारी, व्यवस्थित र सफल बनाउन आयोजित छलफल कार्यक्रममा पार्टीका नगरस्तरीय अगुवा नेता तथा सक्रिय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । छलफलपछि निर्वाचन अभियानलाई सशक्त रूपमा अगाडि बढाउने उद्देश्यसहित ४१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
कार्यक्रममा वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र कार्यक्रम जनतामाझ पुर्याउँदै संगठनलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, अनुशासित र योजनाबद्ध ढंगले निर्वाचन अभियान सञ्चालन गर्ने विषयमा समेत जोड दिइएको थियो ।
जसपा नेपाल शहिदनगर नगर कार्य समितिले गठन गरिएको निर्वाचन परिचालन समितिले पार्टीको पक्षमा वातावरण निर्माण गर्दै विजय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।




